काठमाडौँ । युट्युबर टङ्क दाहालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बनाएको भिडिओलाई लिएर आलोचना हुन थालेको छ । निर्मला पन्त जस्तो संवेदनशील घटनामा पनि भ्युजको खेती गर्दै ‘सस्तो विश्लेषण’ मा झरेको भन्दै सामाजिक सञ्जालमा दाहालविरुद्ध कटाक्ष भइरहेको हो ।
फेसबुक प्रयोगकर्ताहरूले घटनाको सत्यताबाट बहकिएर युट्युबर दाहालले हल्लालाई नै मलजल गरेको आक्षेप लगाएका छन् । दाहालले आफ्नो युट्युब च्यानलमा ‘Nirmala Panta Case: अहिलेसम्म लुकाइएको र नखुलेको कुरा! किन अझै पत्ता लाग्दैन अपराधी ?’ शीर्षकमा साउन १० गते पहिलो भागको भिडिओ सार्वजनिक गरेका छन् । त्यसको एक सातापछि साउन १७ गते ‘Nirmala Panta Case: को होला आखिर लुकाइएको अपराधी?’ भन्दै सनसनीपूर्ण शीर्षकसहित दोस्रो भाग त्यही च्यानलमा सार्वजनिक गरेका छन् । निर्मला पन्तमाथि भएको गम्भीर अपराधको घटनालाई लिएर फेरि भ्रम र शङ्का उब्जिने गरी बनाइएका दुवै भिडिओमा टन्नै भ्युज आएको छ, भाइरल भएका छन् । यो सामग्री तयार पार्दासम्म दुवै भिडिओमा साढे १० लाखभन्दा बढी भ्युज कटिसकेको छ ।
घटना घटेको सात वर्षपछि घटनास्थल कञ्चनपुर त परको कुरा, नेपालको सीमानामा पाइला नै नटेकी युट्युबर दाहालले हल्लाको बुट्टा भरेर निर्मला पन्त घटनाबारे चारवटा निष्कर्ष निकालेका छन् :
१. प्रहरीको चरम लापरवाही
२. बरामद प्रमाणहरूमाथि छेडखानी
३. राज्यले देखाएको नाङ्गो नाच
४. अपराधमाथिको राजनीति
दाहालले भिडियोमा भीआईपी मान्छेको संलग्नता हुन सक्ने जिकीर भिडिओमा धेरै पटक गरेका छन् । शक्ति र पहुँचवाला व्यक्तिले नै घटना घटाएको दाबी उनले गरेका छन् । जबरजस्ती राजनीतिक नेतृत्वसँग घटनालाई जोड्न खोजेका छन् । राजनीतिक नेतृत्व प्रति चुलिएको निरासाबिच दाहालले उनीहरूकै कर्तुत हुन सक्ने भन्दै यस घटनामा पोल्न खोजेका छन् ।
बम सिस्टर्स (दिदीबहिनी)बारे निकै शङ्कासहितको चर्चा उनले गरेका छन् । रोशनी भन्ने आँचल बम र उनकी दिदी बबिता भन्ने अनिता बमको घरमा निर्मला होमवर्क गर्न भन्दै गएकी थिइन् । साइकल चढेर गएकामा साउन ११ गते बिहान ९ बजेतिर नजिकैको उखुबारीमा निर्मला मृत भेटिएकी थिइन् ।
रोशनी बमको घरदेखि मृतक निर्मला पन्त फेला परेको स्थानसम्मको दूरी ६०० मिटरमा थियो । मृतकको साइकल लगायतका सामग्री भेटिएको स्थानदेखि मृतकको घरसम्मको दूरी अन्दाजी १३०० मिटर रहेको सरकारद्वारा गठित छानबिन समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
शव भेटिएपछि महिला प्रहरीले निर्मलाको लुगा फोहोर पानीमा चोपल्दै निकाल्नाले प्रमाण नष्ट भएको जिकिर दाहालले गरेका छन् । जसलाई उनले दोषी उम्काउन सुरुबाटै प्रहरीले गरेको प्रयत्न भनेर विश्लेषण गरेका छन् ।
दाहालले निर्मला पन्तको बारेमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, वर्तमान गृहमन्त्री रमेश लेखक, काँग्रेस महामन्त्री गगन थापालगायतले विभिन्न समयमा गरेका भाषणका अंश प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको विषयमा सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्लिप भिडिओमा समेटिएको छ । यही भिडिओमा प्रस्तुत गरिएका विषयले षड्यन्त्रका सिद्धान्त (conspiracy theory) लाई बढावा दिएको भन्दै दाहालको आलोचना सुरु भएको हो ।
दाहालको भिडिओले खोज पत्रकारितालाई नै चुनौती दिएको देखिन्छ । खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल अर्काले मेहेनत गरेर तयार पारेको समाचारलाई रेफ्रेन्स लिएर नयाँ समाचार सामग्री बनाएको भन्दै गरिने विषय खोज पत्रकारिता नभएको बताउँछन् ।
जसले फिल्डमा महिनौँ खटिएर समाचार सामग्रीहरू तयार गरेको छ, ऊ वास्तवमा खोज पत्रकार भएपनि अर्काले गरेका खोजबिनलाई तोडमोड गरेर युट्युबलगायतका माध्यममा देखाउने खोज पत्रकार कदापि हुन नसक्ने नेपाल टिप्पणी गर्छन् ।
“जो फिल्डमा खटिएर समाचार तयार गर्छ, ऊ खोज पत्रकार हो । तर, अर्काले गरेको कामको रेफ्रेन्स लिएर युट्युबलगायतमा सम्प्रेषण गर्नेलाई त खोज पत्रकार भन्न मिल्दैन,” नेपालले भने ।
यसरी भ्रम फैलाउने काम टंक दाहाल मात्रै होइन तत्कालीन टेलिभिजन प्रस्तोता रवि लामिछानेले पनि गरेका थिए । ६ वर्षअघि २०७६ साउन ९ गते उनले न्युज२४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा ‘दिलीप विष्टनै दोषी भएको अडान लिँदै स्टुडियोमै रोए DSP जिसी, निर्मला प्रकरणको Exclusive चिरफार !’ भन्दै सनसनीपूर्ण एपिसोड प्रसारण गरेका थिए ।
यो कार्यक्रमले पनि थप अन्योल र भ्रम फैलाएको थियो । यस्तै, २०७६ साउन २२ गते निर्मला प्रकरणलाई लिएर लामिछानेले न्युज२४ टेलिभिजनमा पत्रकार खेम भण्डारी र अनुसन्धान गरेका डिएसपी अङ्गुर जिसीसँग बहस गराएका थिए । त्यो कार्यक्रममा त्यति बेलासम्मकै सबैभन्दा लामो एपिसोड हुन गएको लामिछानेले बताएका थिए ।
तर, कार्यक्रमलाई लिएर विवाद भयो । लामिछानेले कार्यक्रममा प्रसारण गरेको भिडिओ तोडमोड गरिएको भन्दै पत्रकार भण्डारी र लामिछाने समर्थक आमनेसामने भए । भण्डारीले त गलत तथ्यहरूमा टेकेर भ्रम छरेको भन्दै जिल्ला अदालतबाट सजायसमेत पाए । लामिछाने पनि कार्यक्रममा एकपक्षीय भएको र घटनाको विषयमा फैलाइएका अनेक हल्लालाई उनले पनि सहारा लिएको आरोप लागेको थियो ।
कार्यक्रममा निम्त्याइएका दुई अतिथिलाई समान व्यवहा
नगरिएको भन्दै लामिछानेको आलोचना भएको थियो । त्यतिबेला सिधा कुरा जनतासँगै अधिकांश मूलधारे मिडिया पनि कन्स्पिरेसी थ्यौरीमा बगेका थिए । अहिले त्यही शैली टंक दाहालले ब्युँताएका छन् ।
तर, लामिछानेले भने आफूले तयार गरेका भिडिओ सामग्रीले अनुसन्धान प्रभावित पार्ने र भ्रम सिर्जना गरेको भए माफी मात्रै मागेर नपुग्ने भन्दै छानबिनको भागिदार समेत बन्न तयार रहेको कुरा कार्यक्रम मार्फत बताएका थिए ।
“प्रहरी प्रशासनलाई मात्र दोष थुपारेर सञ्चारमाध्यम भाग्न सक्दैन । हुन सक्छ अनुसन्धानलाई प्रभावित पार्न हाम्रा रिपोर्टहरूले सघाए कि ? कान नछामी कागको पछि कहीँ कतै दौडिएर भ्रम सिर्जना गर्नमा हाम्रा रिपोर्ट सहयोगी भए कि ? हाम्रा मात्रै होइन, कसैका पनि रिपोर्टिङले निर्मलालाई न्याय दिने प्रक्रियामा बाधा सिर्जना गरेको भए माफी मात्रै मागेर पुग्दैन, सजायको भागिदारसमेत हुनुपर्छ । छानबिनको सुरुवात हामीबाटै होस्,” लामिछानेले भनेका थिए ।
निर्मला हत्याकाण्डलाई लिएर महिनौँ लगाएर अनलाइन समाचार पोर्टल पहिलोपोस्टले ‘whokillednirmala’ अनुसन्धानात्मक समाचार श्रृङ्खलामार्फत चलेका भ्रम चिर्ने भरपुर प्रयास गरेको थियो । उक्त न्युज पोर्टल औपचारिक रूपमा बन्द भइसकेको छ । तर वेबसाइट भने अझै पनि खुल्छ । यदि उक्त वेबसाइट खुल्न छोडेको खण्डमा निर्मला पन्त बारेका ती खोजमूलक सामग्री सुरक्षित रहून् भनेरै श्रेष्ठले ‘Whokillednirmala.com’ नामक छुट्टै वेबसाइट नै तयार पारेर राखेका छन् । ३० ओटा सिरिज तयार गर्न नेतृत्वदायी भूमिका निभाएका पहिलोपोस्टका तत्कालीन सम्पादक तथा माइसंसार ब्लगका सञ्चालक उमेश श्रेष्ठ (सालोक्य) टंक दाहालको भिडिओ हेरेपछि चित खाए ।
३० सिरिज प्रकाशित भएपछि श्रेष्ठ पहिलोपोस्टबाट अलग भए । त्यसपछि उनले आफ्नै ब्लग माइसंसारमा निर्मला प्रकरणबारे थप सामग्री प्रकाशन गरेका छन् ।
“मैले भिडिओ हेरेँ । त्यसमा नयाँ कुरो केही छैन । जतिखेर हामी ६ वर्षअघि २०७६ मा ‘whokillednirmala’ सिरिजको सुरुआतका क्रममा स्थलगत रिपोर्टिङ गर्न कञ्चनपुर पुगेका थियौँ, त्यतिखेर पनि यस्तै हल्ला चलेको थियो । दाहालको भिडिओमा त्यही पाएँ । भिडिओ धेरैले हेरिसक्नु भएको छ, एकदमै मिसलिडिङ छ,” श्रेष्ठले भने ।
जसरी दाहालले जबरजस्त रूपमा कुनै भीआईपी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशङ्का गरेका छन्, त्यो आफूहरूको लामो अध्ययनले गलत ठहर्याएको श्रेष्ठले बताए । “हाम्रो अहिलेसम्मको सोधखोजको निष्कर्ष यो घटनामा भिआईपी संलग्न छैनन् भन्ने हो । हुँदै नभएको भीआईपी बारे ‘रे’ को भरमा हल्ला फैलाइयो । युट्युबमा लाखौँ भ्युज हुने इन्फ्लुएन्सर भएपछि समाज प्रति केही जिम्मेवारी पनि हुन्छ। यस्ता संवेदनशील विषयमा भिडिओ बनाउँदा कन्स्पिरेसी थ्यौरीलाई मलजल नगरेकै राम्रो हुने हो,” श्रेष्ठले भने ।
बम दिदीबहिनीमाथि दाहालले पनि पर्याप्त अनुसन्धान नगरी छोडेका विषय भिडिओमा उल्लेख गरेका छन् । पत्रकार श्रेष्ठ यसमा सहमत छैनन् र यसलाई पनि हल्ला चलाइएको बताउँछन् ।
“बम दिदीबहिनीहरूमाथि हल्लाबाजहरूले भनेजस्तो अनुसन्धान नै नभएको होइन । विस्तृत अनुसन्धान भएको थियो, टेक्निकल (मोबाइल) र म्यानुअल दुवै । तत्कालीन सिडिओ र एसपीले दिदीबहिनीलाई थुन्दे भने पनि अनुसन्धान गर्ने प्रहरीले नमानेकै हो । उनीहरूले गरेको गल्तीको थोरैमात्र पनि केही क्लु नभेटेपछि थुन्न नसकेको हो,” श्रेष्ठले भने, “बम दिदीबहिनीमध्ये बम दिदीलाई डान्सबारमा नाच्ने भनेर समेत एउटा मानव अधिकारवादी संस्थाले स्थलगत रिपोर्ट बनाएको थियो, जुन हाम्रो रिपोर्टिङ पछि सच्याइएको थियो ।”
युट्युबर दाहालले भिडिओमा पटकपटक बम दिदीबहिनीको आँगनको अम्बाको रुख काटेको र कोठामा रङ लगाइएको चर्चा गरेका छन् । अम्बाको रुख र कोठामा रङ लगाइएको विषय पनि उठाएका छन् । “अम्बाको रुख र रङको हल्लाबारे यथार्थ त्यहाँ पुगेपछि थाहा भयो । मूल सडक छेवैमा रहेको अम्बाको रुखमा झुन्ड्याउन सम्भव नै नहुने देख्यौँ । अर्को कुरा धारिलो हतियार प्रहार गरेर घटना घटेको भए भित्तामा रगतका छिटा लागेकाले रङ लगाएर प्रमाण मेट्न खोजे भन्ने हुन्थ्यो होला, तर मृतकको बाहिरी भागमा कुनै रगत बग्ने घाउ थिएनन्, ” श्रेष्ठले भने ।
त्यसैगरी, सुबास शर्मा नाम गरेका फेसबुक प्रयोगकर्ताले यो केसमा भीआईपीभन्दा बढी भयावह राज्य संयन्त्रको ढिलासुस्ती, अनुसन्धानको अपारदर्शीता र जनमानसमा फैलिएको भ्रम रहेको भन्दै टंक दाहालको भिडिओ प्रति कटाक्ष गरेका छन् ।
“साँचो अनुसन्धान भनेको भ्युज बढाउनु होइन, साँचो अनुसन्धान भनेको अनपपुलर (अलोकप्रिय) सत्यसँग आँखा जुधाउनु हो । तर अफसोस टंक दाहालजस्ता प्रभावशाली युट्युबरहरूले त्यो आँट देखाएनन्,” उनले फेसबुकमा लेखेका छन् ।
त्यसैगरी, अर्का फेसबुक प्रयोगकर्ता समीर लामाले यो केसमा अनुत्तरित प्रश्न धेरै रहेको तर, पुरा तस्विर (whole picture) नहेरेर भीआईपी कनेक्सन, कन्स्पिरेसी थ्यौरी बोकेर स्टोरी भनेको आरोप दाहालमाथि लगाएका छन् ।
“रिसर्च गर्दा सुरुमै आफ्नो प्रि-अकुपाइड हाइपोथेसिस बोक्दा उही न्यारेटिभलाई सपोर्ट गर्ने रिसोर्स मात्र अगाडि आउँछन् र तिनै प्रयोग हुन्छन्,” लामाले लेखेका छन् ।
No comments yet. Be the first to comment!