मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले इमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो । 

यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो ।

मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैङ्क खाता प्रयोग गर्न सक्छन् । किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैङ्क खातामा सिधै भुक्तानी पठाउन थालेको छ ।”

यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैङ्क खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो पे आउट अकाउन्ट सेट अप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैङ्क खाताको विवरण भर्नुपर्नेछ ।

“यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैङ्क खाता लिङ्क गरेर आम्दानी गर्दै आएका थिए,” अर्यालले भने, “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ । अब ढुक्क भएर नेपाली बैङ्क खाता लिङ्क गरी आम्दानी गर्न सकिन्छ ।”

कन्टेन्ट मनिटाइजेसनभन्दा अगाडि फेसबुकले सीमित क्षेत्रका क्रियटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो । पहिलो- ‘इनस्ट्रिम एड्स’ । यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो । दोस्रो- ‘एड्स अन रिल्स’ । अर्थात् रिल्समा विज्ञापन देखाए बापत भुक्तानी दिने । र, तेस्रो हो - ‘पर्फमेन्स बोनस । यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम । 

३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाAdvertisement सदाका लागि विस्थापित गरेको छ । अर्थात् यसअघि सुरु भएका तीन ओटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन् । 

 

कन्टेन्ट मनिटाइजेसनका लागि के छ मापदण्ड ?

मेटाले प्रत्यक्ष रूपमा यो मापदण्ड पूरा गर्ने प्रयोगकर्तालाई कन्टेन्ट मनिटाइजेसनमा राख्ने भन्ने निर्णय गरिसकेको छैन । अहिलेलाई मेटाले योग्य क्रियटरलाई आफैँ छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट वन्ली’ भनिएको छ । 

मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रियटरले मेटा बिजनेस सुट र प्रोफेसनल ड्याशबोर्डबाट पे आउट सेट अप गर्न सक्नेछन् । 

यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रियटरले पे आउट सेट अप गर्न सक्छन् । त्यस्तै क्रियटरले पार्टनर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ । यसरी कुनै पनि नीति उलङ्घन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रियटरलाई मेटाले रकम उपलब्ध गराउँछ । क्रियटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ । भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तीमा पनि १५ सेकेन्डको हुनुपर्छ । 

कपि राइट लाग्यो, ब्रान्डेड कन्टेन्टमा पर्‍यो, अयोग्य भाषामा पर्‍यो, कन्टेन्ट डिलिट भयो, क्रियटरले एड्स डिसेबल गरेको छ, अनधिकृत तरिकाले इन्गेजमेन्ट बढाएको छ भने त्यस्ता पेजले रकम कमाउन नसक्ने फेसबुकले स्पष्ट पारेको छ । अरूको कन्टेन्ट राखिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेको छ भने पनि त्यस्तोमा पोस्टबाट हुने आम्दानी तेस्रो पक्षले दाबी गर्न पाउँछ । 

कन्टेन्ट मनिटाइजेसनका लागि पेज योग्य छ कि छैन भन्ने थाहा पाउन मोबाइलमा फेसबुक पेज खोल्नुहोस् । अनि प्रोफेसनल ड्याशबोर्डमा जानुहोस् । र, मनिटाइजेसनमा गएर कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस् । 

त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरेर भुक्तानीको विवरण भरी ‘कम्प्लिट’ सेट अप गर्न सक्नुहुन्छ । कम्प्युटरमा मेटा बिजनेस सुटमा गएर यही प्रक्रिया अपनाउन सक्नुहुन्छ ।